
सन्तोष पोखरेल, पोखरा, फागुन २९- टलक्क टल्केको माछापुच्छ्रे, अन्नपूर्ण हिमशृंखला अनि पोखराको चिसो मौसम। शनिबार बिहान पोखराको आकाशमा अल्ट्रालाइट जहाजबाट सयर गर्ने जो सुकैले खुला हिमाल र चिसो मौसमको अनुभव गर्न पाउँथे । शनिबार खुला आकास सयर गर्ने भाग्यमानी पर्यटकसँगै अस्ट्रेलियाकी हिरोइन सारा माबे पनि एक थिइन्। पहिलोपटक पोखरा आएकी उनको नेपाल यात्रा पनि पहिलो नै हो। नेपाली फिल्म 'डेस्टिनेसन काठमाडौं' मा अभिनय गर्न उनी पोखरा आएकी हुन्।फिल्मको गीत छायांकनको क्रममा शनिबार पोखराको आकासमा अल्ट्रालाइट प्रयोग गरिएको थियो। दुईवटा अल्ट्रालाइट भाडामा लिएर पोखराको सौन्दर्यको बयान गर्दै गीत खिचिएको थियो।पोखरादेखि माछापुच्छ्रे हिमालसम्मको दृश्य छायांकनको क्रममा हिरोइन सारा निकै खुसी भइन्। 'पहिलो यात्रामै पोखराको सौन्दर्यले आकर्षित गर्यो,' अल्ट्रालाइटबाट ओर्लिनासाथ उनले भनिन्, 'पोखरा साँच्चै राम्रो रहेछ, मैले यति धेरै सुन्दर होला भन्ने सोचेकी थिइनँ। प्राकृतिक दृश्यले म निकै लोभिएँ,' उनले भनिन्।

